३.२ जनसंख्या वितरणको अवस्था
३.२ जनसंख्या वितरणको अवस्था
कुनै पनि स्थानको जनसंख्या, विकासको साधन र साध्य दुवैको रुपमा रहेको हुन्छ । विकासका लागि आवश्यक अन्य आर्थिक, भौतिक साधनहरूको परिचालन मानव श्रोतबाट नै हुने भएकाले विकास योजना तर्जुमा गदार् यसको बनावटको विविध पक्षहरूको अध्ययन र विश्लेषण हुनु आवश्यक हुन्छ । नेपालमा जनसंख्याको विविध पक्षको तथ्याङ्क प्रत्येक १० वर्षमा हुने राष्ट्रिय जनगणनाकाे साथै गाउँपालिकास्तरमा घरधुरी सर्वेक्षण मार्फत् समेत प्राप्त हुने गरेको छ । यहाँ राष्ट्रिय जनगणना, २०७८ बाट प्राप्त तथ्याङ्कका आधारमा जनसंख्याका विविध पक्षहरूको विश्लेषण गरिएको छ ।
तालिका नं. ५ – जनसंख्याको विवरण
| विवरण | वि.सं. २०७८ |
|---|---|
| जम्मा जनसंख्या | ६९,४७२ |
| जम्मा पुरुष | ३२,०७३ |
| जम्मा महिला | ३७,३९९ |
| लैङ्गिक दर (प्रति १०० महिलामा पुरुषको संख्या) | ८५।९५ |
| कुल परिवार | १६,४६९ |
| औषत परिवार आकार | ४.२ |
| जनघनत्व (प्रतिवर्ग कि.मि.) | ४९०।३८ |
| जनसंख्या वृद्धिदर (प्रतिशत) | २।७७ |
| साक्षरता दर (५ वर्ष र सोभन्दा बढी उमेर समूह) | ७७।९ |
माथिको तालिकामा बैजनाथ गाउँपालिकाको जनसंख्याको विवरण प्रस्तुत गरिएको छ । राष्ट्रिय जनगणना, २०७८ को तथ्याङ्क अनुसार गाउँपालिकाको जम्मा जनसंख्या ६९,४७२ रहेको छ जसमध्ये पुरुष ४६.१७ प्रतिशत (३२,०७३ जना) र महिला ५३.८३ प्रतिशत (३७,३९९ जना) रहेका छन् । सोही अनुसार लैङ्गिक अनुपात (sex ratio) अर्थात प्रति १०० महिलामा पुरुषको संख्या ८५.९५ रहेको छ । जनघनत्व (प्रति वर्ग किलोमिटरमा रहेको जनसंख्या) ४९०.३८ जना प्रति वर्ग किलोमिटर रहेको छ । यस गाउँपालिकाको कुल जनसंख्या मध्ये १,९२८ जना अर्थात २.८ प्रतिशत अपाङ्गता भएका व्यक्तिहरू रहेका छन् । कुल १६,४६९ घरपरिवार रहेको यस गाउँपालिकामा प्रति परिवार औषत ४.२ जना सदस्य रहेको देखिन्छ ।